हामी सूर्य चिन्ह लिएर जनतामा जानेछौं : ईश्वर पोखरेल

विभाजित नेपाल कम्युनिष्ट पार्टी (ओली पक्ष) का नेता ईश्वर पोखरेलले तत्कालीन दुई पार्टीबीचको एकताको गर्भमै समस्या रहेको बताएका छन् ।

पार्टीमा आएको विभाजनपछि पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र (काठमाडौं–५)मा शनिबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

त्यो समस्या मूलतः तत्कालीन कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का कारण सिर्जना भएको उनको भनाइ थियो ।

‘त्यो एकताको गर्भमै केही समस्या थिए’ पोखरेलको भनाइ छ, ‘हिजो हामीले संसदीय निर्वाचन, प्रदेशसभाको निर्वाचनमा जाने बेलामा अब साझा चुनाव चिन्ह हुन्छ सूर्य । साझा उम्मेदवार हुन्छन् भनेर हामीले तय गर्‍यौं । साझा घोषणापत्र हुन्छ भनेर हामीले तय गर्‍यौं । हामी गद्गद् भयौं, खुशी भयौं । तर, त्यो सहमति भए पनि २४ घण्टा पनि वित्न पाएन । प्रचण्डले हामीलाई खबर पठाउनुभयो, सूर्य चिन्ह लिएर हामी त चुनाव लड्न नसक्ने भयौं । हामी छाँगाबाट खसेजस्तो भयौं ।’

त्यसलाई पोखरेलले विचित्रको अवस्था र पहिलो गाँसमै ढुंगा लागेको रुपमा व्याख्या गरे । ‘सहमति भएको २४ घण्टा भएको छैन विचित्रको अवस्था भयो’ उनले भने, ‘त्यो विचित्र अवस्था भनेको के हो भने उम्मेदवार साझा, घोषणापत्र साझा, चुनाव चिन्ह चाहिं आफ्नो–आफ्नो । जबकि २४ घण्टा पहिले एउटा निर्णय गरिएको थियो । हामीलाई पहिलो गाँसमै ढुंगा लाग्यो ।’

चुनाव चिन्हकै कारणले दश लाख मत बदर भएको उनको दाबी समेत थियो ।

ताजा जनादेश स्वीकार गर्नुपर्छ : सांसद सिलवाल
यस्तै कार्यक्रममा काठमाडौँ–५ ‘क’ प्रदेश सांसद नारायण सिलवालले ताजा जनादेशको लागि निवौचनमै जानु उत्तम विकल्प भएकोले सबैले स्वीकार गर्नुपर्ने जिकिर गरे । २०५१ मा मनमोहन अधिकारीको अल्पमतको सरकारले अविश्वास प्रस्ताव गरिसकेपछि संसद् विघटन गरेकाले सो निर्णय अदालतले बदर गरेको उदाहरण दिँदै उनले अहिले भने फरक परिस्थिति रहेको बताए ।
‘२०५१ मा अल्पमतको सरकार थियो, त्यसमा पनि अविश्वास प्रस्ताव पेस भइसकेको थियो, त्यसैले त्यो अवस्थामा अदालतले संसद् विघटन निर्णय बदर गरिदियो, अहिले भने बहुमतको सरकारले गरेको निर्णय अदालतले समेत सदर गर्ने विश्वास छ,’ सिलवालको तर्क थियो ।
वर्तमान सरकारले धेरै विकास निर्माणका काम गरेको जिकिर गदृै उनले सकारात्मक कामको प्रचार हुन नसकेको गुनासो गरे । राम्रो कामको प्रचार गर्दै चुनावमा होमिन उनले कार्यकर्तालाई निदर्शेन दिए ।
मदन भण्डारीको सिद्धान्तलाई आत्मसाथ गछौं : सांसद  निरौला
यस्तै काठमाडौँ निर्वाचन क्षेत्र ५ ‘ख’ का प्रदेश सांसद दीपक निरौलाले योग्य कार्यकर्तालाई जिम्मेवारी दिँदै अघि बढ्दै गर्दा पार्टी फुटको अवस्थामा पुगेको भन्दै दुख व्यक्त गरे ।  भूकम्प, नाकाबन्दी र महामारीमा केपी ओलीको नेतृत्वमा भएका कामहरूको उनले प्रशंसा गरे ।
निरौलाले भने ‘विपत्तिमा पनि विकासका ठुला ठुला आयोजनाहरू बढाएर ओलीले जनताको विश्वास जित्नुभएको छ, ओलीको सफलतालाई डाह गर्नेहरूले नै ओलीलाई घेराबन्दी गर्दै पाखा लगाउन खोजे । नसकेपछि पार्टी फुटाउन लागेका छन् ।’
पार्टी विभाजनको सँघारमा जननेता मदन भण्डारी र पार्टी संस्थापक पुष्पलाल र मनमोहनको विचार र सिद्धान्तलाई आत्मसाथ गर्दै आफूहरू अघि बढ्ने बताए ।
अव नेतृत्वको लागि युवा तयार हुनुपर्छ : केन्द्रीय सदस्य गुरुङ
यस्तै संविधानसभा सदस्य समेत रहेकी नेकपा केन्द्रीय सदस्य रत्न गुरुङले पार्टी फुटमा जाँदा आफूहरूलाई जनता कार्यकर्ताको माझमा जाँदा लाज लागेको भन्दै वास्तविकता बुझाउने प्रयासमा लागेको बताइन् ।
चुनावको जनतासँग गरेको बाचा अनुसार आफूहरू अघि बढ्दै गर्दा पार्टी विभाजन चाहनेहरूको कारण जनताको सबै अपेक्षा पुरा गर्न नसकेको उनले स्विकारिन् । पार्टीका युवा कार्यकर्तालाई आग्रह गर्दै गुरुङले भनिन् ‘तपाईँहरू नेताको होइन सिद्धान्त र विचारको पछि लाग्नुहोस् । पार्टीको नेतृत्व युवाको काँधमा पुर्‍याउन हामी लागेका छौँ, नेकपालाई थप मजबुत बनाउँदै अघि बढ्नुहोस्, सरकारले गरेका राम्रा कामहरू जनतालाई बुझाउनुस् । पार्टी फुटाउनेहरुको भण्डाफोर गर्नुहोस् ।’
तपाईंको प्रतिकृया

Leave a Reply

Your email address will not be published. Required fields are marked *