सिंहदरबारको सुरक्षाका लागि नयाँ कार्ययोजना

सिंहदरबारको ‘एकीकृत सुरक्षा कार्ययोजना–०७७’ तयार भएको गृह मन्त्रालयका प्रवक्ता (सह–सचिव) चक्रबहादुर बुढाले बताए ।

उनले भने, ‘समितीले एकीकृत सुरक्षा योजना सम्बन्धी प्रतिवेदन बुझाएको छ, सो कार्ययोजना लागु गर्ने सम्बन्धमा सरोकारवाला मन्त्रालयसँग पनि छलफल गरेर निर्णय लिइन्छ ।’

समितिले सिंहदरबार परिसर सुरक्षाको वर्तमान अवस्था विश्लेषण गरेर अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजना बनाएको छ ।

विगतमा भएको सुरक्षा कमजोरी र भोली आउनसक्ने सम्भावित जोखिमबारे व्याख्या गर्दै सिंहरबार परिसरको सुरक्षाका लागि जनशक्ति थप गर्नुपर्ने प्रस्ताव गरिएको छ ।

 

प्रवेश गेटमा भेहिकल स्क्यानर

प्रतिवेदनमा मुख्यरुपमा दक्षिण गेटसहित अन्य तीनवटा गेटमा पनि सवारी स्क्यानर मेशिन राख्नुपर्ने सुझाव दिइएको छ । अहिले सिंहदरबार प्रवेश गर्ने गाडी र मोटरसाईकल स्क्यान गर्ने मेशिन छैन ।

म्यानुअल चेकजाँचबाट गाडीमा लुकाएर लाने हतियार र विष्फोटक पदार्थ पत्ता नलाग्दा आपराधिक समूहले फाइदा उठाउन सक्ने विश्लेषण गर्दै भेहिकल स्क्यानर मेशिन जडान गर्नुपर्ने समितीको सुझाव छ ।

सिंहदरबार परिसरमा क्लोज सर्किट टेलिभिजन (सिसिटिभी) क्यामेराको संख्या बढाउन पनि समितिले सुझाव दिएको छ ।

कार्यदलले सिंहदरबारभित्र जथाभावी फोटो खिच्न र सेल्फी खिच्न पनि रोक लगाउन सुझाव दिएको छ । आजभोलि सिंहदरबार परिसरभित्र गृह मन्त्रालयको अनुमति बिना फोटो खिच्दा प्रहरीले पक्राउ गर्छ ।

कार्यदलले सिंहदरबारभित्र पार्किङ स्थलको समस्या रहेको भन्दै पार्किङ व्यवस्थित गर्नुपर्ने सुझाव दिएको छ । गृह सचिवस्तरीय निर्णयले गठन गरिएको सो समितीको प्रतिवेदन छिट्टै कार्यान्वयनमा ल्याईने गृह मन्त्रालयले जनाएको छ ।

तपाईंको प्रतिकृया

Leave a Reply

Your email address will not be published. Required fields are marked *