ओलीको ‘स्टेप’मा सर्वसम्मति, अब के होला ?

कात्तिक २८ गतेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि विभिन्न आरोपहरु लगाउँदै लिखित प्रस्ताव पेस गरेपछि प्रधानमन्त्री ओली आक्रोशित बनेका थिए । बुधबारको सचिवालयले मंसिर १३ गते सचिवालय, १८ गते स्थायी कमिटी र २५ गते केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ ।

तर, बुधबार प्रधानमन्त्री ओली संयमित एवं सकारात्मकरुपमा प्रस्तुत भए । उनले एक कदम पछाडि सर्दै प्रचण्डको प्रस्तावको जवाफ दिन तयार रहेको सचिवालय बैठकमा बताए । अन्ततः प्रधानमन्त्री ओलीको यो ‘स्टेप’ लाई सचिवालयले सर्वसम्मतिले स्वीकार गर्दै जवाफी प्रस्ताव तयार पार्नका लागि १० दिनको समय दिने सर्वसम्मत निर्णय गर्‍यो ।

बुधबार बसेको सचिवालय बैठकले मंसिर १३ गते सचिवालय, १८ गते स्थायी कमिटी र २५ गते केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । र, १३ गतेको बैठकमा प्रधानमन्त्री ओलीले प्रचण्डको काउन्टरमा अर्को प्रस्ताव पेस गर्ने सर्वसम्मति जुटेको छ ।

प्रधानमन्त्री ओलीले पार्टी एकता जोखिममा परेको बताउँदै एकता जोगाउनुपर्ने बैठकमा धारणा राखे । प्रचण्डले लगाएका आरोपहरुको जवाफमा आफूले अर्को प्रस्ताव ल्याउन चाहेको बताउँदै उनले त्यसका लागि समय मागे ।

‘तपाईलाई कति समय चाहिन्छ ? एक हप्ताले पुग्छ ?’ प्रचण्डको प्रश्नमा ओलीले त्योभन्दा बढी समय चाहिने बताए । अन्ततः बैठकले ओलीलाई १० दिन समय दिने निर्णय गर्‍यो ।

बैठकमा बोल्दै वरिष्ठ नेता झलनाथ खनालले पार्टीभित्र हुने विवाद र बहसहरुलाई बैठकबाटै निश्कर्षमा पुर्‍याउनुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले प्रस्ताव ल्याउनु सकारात्मक भएको बताए ।

बैठकमा बरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्रीले समय माग्दा दुई–तीन दिन बढी नै दिन सकिने तर, समय लम्ब्याएर अरु–अरु कामतिर लाग्न नहुने बताए ।

अर्का नेता ईश्वर पोखरेलले कार्यकारी अध्यक्ष प्रचण्डले कात्तिक २८ गते प्रस्तुत गरेको प्रस्ताव आरोप पत्र नै भएको बताए । तर, त्यसको जवाफ प्रधानमन्त्रीले दिने भन्दै पोखरेलले त्यसका लागि समय दिनुपर्ने बताए ।

महासचिव विष्णु पौडेलले पार्टीभित्र देखिएका समस्याहरु स्थायी कमिटीमा लानुभन्दा सचिवालयमै समाधान गरिनुपर्ने बताएका थिए । उनले के सचिवालयका नेताहरु अयोग्य भइसक्यौं र ? भन्ने प्रश्न उठाएका थिए ।

तपाईंको प्रतिकृया

Leave a Reply

Your email address will not be published. Required fields are marked *