सरकारसँग सहमतिपछि डा. केसीले तोडे अनशन

चिकित्सा शिक्षा र सेवा सुधारको माग राख्दै अनशनरत डा. गोविन्द केसीले २८औं दिनमा अनशत तोडेका छन् । शनिबार राति सरकारसँग भएको ८ बुँदे सहमतिपछि आइतबार बिहान डा. केसीले १९औं अनशन तोडेका हुन् ।

 

उनलाई कोरोना संक्रमणपछि निको भएका त्रिवि शिक्षण अस्पतालका ४६ वर्षीय कर्मचारी विकास नेपालीले जुस खुवाएर अनशन तोडाएका हुन् ।

उनले अनशन तोडनुअघि प्रधामन्त्री केपी शर्मा ओली, सरकारी वार्ता टोली, शुभचिन्तक तथा सहयोगीलाई धन्यवाद दिएका थिए । अनशन तोड्नुअघि डा. केसीका सहयोगी प्रितम सुवेदीले सरकारसँग भएको ८ बुँदे सहमति पत्र पढेर सुनाएका थिए ।

 

सरकार र डा. केसी पक्ष टोलीबीच शनिबार दिनभर वार्ता हुन सकेको थिएन । शुक्रबार रातिको वार्ता बिनानिष्कर्ष टुंगिएको थियो । शिक्षामन्त्री गिरिराजमणि पोखरेल सरकारी वार्ता टोलीसहित शनिबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीलाई भेटेपछि वार्ता टोलीले डा. केसीलाई अनशन तोड्न आग्रह गर्दै विज्ञप्ति जारी गरेको थियो ।

 

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आन्तरिक रूपमा आईओएमकी डिन डा. दिव्यासिंह शाहमार्फत डा. केसीसँग संवाद अघि बढाएका थिए । उनी प्रधानमन्त्रीकी निजी चिकित्सकसमेत हुन् । प्रधानमन्त्रीकै दबाबमा उनी डिन नियुक्त भएकी थिइन् ।

 

सरकारी वार्ता टोलीका सदस्य तथा आयोगका निर्देशक डा. दिलीप शर्मा पनि सहमतिको प्रयासमा जुटेका थिए । सरकारले वार्ता नगरी अनशन मात्र तोड्न आग्रह गरेको भन्दै चिकित्सक संघले आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको थियो । सरकारसँग सहमति भएपछि भने चिकित्सक संघ र विभिन्न अस्पतालका आवासीय चिकित्सकहरुले आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएका छन् ।

तपाईंको प्रतिकृया

Leave a Reply

Your email address will not be published. Required fields are marked *