दसैंको मुखमा तरकारी भाउ आकाशियो

दसैं नजिकिएसँगै तरकारीको मूल्य उच्च दरमा बढ्न थालेको छ । गाजरबाहेक सबैजसो तरकारीको भाऊ बढेको छ । इस्कुसबाहेक प्रायः सबै तरकारीको मूल्य ‘थ्री डिजिट’ मा बढेको छ ।

कालिमाटी तरकारी बजारको थोक मूल्यलाई आधार मान्दा खुद्रा बजारमा प्रायः सबैजसो तरकारी प्रतिकिलो १०० रुपैयाँभन्दा माथि पुगेको तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खुमप्रसाद घिमिरे बताउँछन् ।

यो वर्ष लकडाउनका कारण कृषकमा परेको मनोवैज्ञानिक त्रासको असर उत्पादनमा पनि परेको घिमिरेको तर्क छ ।

लकडाउनमा नेपाली तरकारीको उत्पादन नभएको र भारतबाट आएकाले महंगो भएको व्यवसायीहरुले तर्क गरे पनि चाडबाडका बेला मनोमानी भाऊ बढाइएको हुन सक्ने उपभोक्ताको गुनासो छ ।

अझै एक महिना तरकारीको मूल्य घट्ने अवस्था नरहेको बताउँदै घिमिरे भन्छन् ‘दशैंअघि मूल्य घट्ने अवस्था छैन, अब विस्तारै उपत्याकाका टनेलका उत्पादन आउन थाल्छन्, तराईबाट पनि उत्पादन आउन थाल्छ, त्यसपछि मात्रै तरकारी सस्तो हुन्छ ।’

इस्कुसबाहेक सबैजसो तरकारी महंगो

कालिमाटीको थोक बजारमा शनिबार गोलभेडाको औसत मूल्य प्रतिकेजी ५० रुपैयाँभन्दा माथि पुगेको छ । एक हप्तायता गोलभेडाको मूल्य प्रतिकिलो ७ देखि १५ प्रतिशतले बढेको हो । केही हप्ताअघिभन्दा गोलभेडा सस्तो भए पनि यो हप्तादेखि फेरि बढेको छ ।

यो वर्ष आलु पनि चरम महंगो भएको छ । अहिले भारत, भुटान र बंगलादेशबाट आलु आयात भइरहेको छ । रातो आलु थोकमै प्रतिकिलो १०० रुपैयाँ माथि पुगेको छ । भारतीय रातो आलुको मूल्य थोकमा ६५ रुपैयाँ हाराहारी पर्छ । मुडेको रातो आलु पनि थोकमै प्रतिकिलो ८५ रुपैयाँ बराबर पर्छ ।

बन्दाको मूल्य पनि थोकमा किलोको ७० रुपैयाँ भन्दा माथि छ । स्थानीय काउलीको थोक मूल्य किलोमा १२० रुपैयाँ भन्दा बढी छ ।

यो हप्ता लामो भन्टाको मूल्य पनि ह्वात्तै बढेको छ । करिब आधाभन्दा बढी मूल्य बढेर लाम्चो भन्टा थोकबजारमै किलोमा १५० रुपैयाँ नाघेको छ । तने बोडी पनि करिब १५ प्रतिशत महंगो भएर थोक बजारमै किलोमा १५५ रुपैयाँ पर्न थालेको छ ।

तपाईंको प्रतिकृया

Leave a Reply

Your email address will not be published. Required fields are marked *