आइतबारको आकस्मिक मन्त्रीपरिषद बैठकमा किन सामान्य निर्णय मात्रै भयो ?

आइतबार बिहानमात्रै मन्त्रिपरिषद् बैठकको सूचना पाएका एक मन्त्रीलाई आज प्रधानमन्त्रीले केही आकस्मिक निर्णय गर्न सक्ने अनुमान थियो।

‘हिजो राति चाँडै सुतेको थिएँ। १० बजेपछि मात्रै खबर आएको रहेछ,’ एक मन्त्रीले भने,’केही आकस्मिक कारणले प्रधानमन्त्रीले बैठक बोलाउनुभएको होला भन्ने लागेको थियो।’

केही मन्त्रीले भने आजको बैठकमा प्रधानमन्त्री ओलीले  मन्त्रिपरिषद् पुनर्गठनको कुरा गर्दै अहिलेसम्म गरेको कामका लागि धन्यवाद दिन बोलाएको हुन सक्ने आकलन गरेका थिए।

आइतबारको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली आएपछि सिधै मुख्य सचिव लोकदर्शन रेग्मीलाई आज के एजेण्डा छ निकाल्नुस् त भनेका थिए। रेग्मीले मन्त्रिपरिषदका एजेण्डा प्रस्तुत गरे।

बैठकले नेपाल कृषि अनुसन्धान परिषद(नार्क)को कार्यकारी निर्देशकमा दीपक भण्डारीलाई नियुक्त गरेको छ। त्यसैगरी सातै वटा प्रदेशमा इजरायली प्रविधियुक्त बागवानी केन्द्र स्थापनाका लागि एमओयु गर्ने निर्णय  पनि  आजैको बैठकले गरेको छ।
‘मन्त्रालयभित्रकै नियमित एजेन्डामा छलफल र निर्णय भएपछि मलाई अन्तिमसम्म पनि केही न केही हुन्छजस्तो लागेको थियो। मन्त्रालय टुक्र्याउने निर्णय आजै हुने हो किजस्तो पनि लागेको थियो,’ ती मन्त्रीले भने,’तर मन्त्रालयका नियमित एजेण्डा टुंगिएपछि प्रधानमन्त्रीले सबैलाई धन्यवाद भन्नुभयो।’
तपाईंको प्रतिकृया

Leave a Reply

Your email address will not be published. Required fields are marked *