मल्लकालकै शैलीमा फर्कियो बालगोपालेश्वर, सोमबार गजुर राखिँदै

रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा सोमबार गजुर प्रतिस्थापन गरिने भएको छ । यो मन्दिरको लामो समयको विवादपछि निर्माण भएको हो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियर राजुमान मानन्धरका अनुसार सोमबार मध्यान्हमा जुरेको शुभ साइतमा मन्दिरमा गजुर राखिनेछ । क्षमता पुजा पनि हुनेछ ।

उनका अनुसार अब पहिलो चरणको योजनाअनुसार पोखरी वरपर सरसफाइ लगायतको केही काम मात्रै बाँकी छन् ।

केही दिनभित्रै रानीपोखरीमा माछाका भुरा पनि हालिने उनले बताए । ‘क्याटफिसबाहेक पोखरीमा उपयुक्त र लेउमा बढी निर्भर हुने माछा हाल्छौं,’ उनले भने,’पोखरीलाई प्राकृतिक स्वरुपमा फर्काउन यो जरुरी हुन्छ ।’

ग्रन्थकुट शैलीमा बन्यो मन्दिर

रानीपोखरीको बीचमा पुनर्निर्मित मन्दिर भूकम्पअघिकोजस्तो स्वरुपमा छैन । किन बालगोपालेश्वर मन्दिरको शैली परिवर्तन भयो त ?

सुरुमा काठमाडौं महानगरपालिकाले जिम्मा लिएको रानीपोखरी र मन्दिरको पुनर्निर्माणका क्रममा कंक्रिट प्रयोग भएको थियो । सम्पदामा सिमेन्ट र छड प्रयोग गरेपछि विवाद भयो ।

विवाद सल्ट्याउन महानगरपालिकाले पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्की संयोजकत्वको विज्ञ समूह बनायो । सो समूहले यो मन्दिर ग्रन्थकुट शैलीमा नै बनाउन सिफारिस गरेको थियो । तर, सुरुमा त्यसलाई पुरातत्व विभाग र काठमाडौं महानगरपालिकाले त्यसलाई स्वीकारेका थिएनन् ।

तर, विज्ञसहित सम्पदाप्रेमीले भने मल्लकालीन शैलीमै मन्दिर बनाउन दबाव दिएका थिए । विज्ञ समूहको प्रतिवेदनअनुसार रानीपोखरीको बालगोपालेश्वर मन्दिर प्रताप मल्लको कालमा ग्रन्थकुट (शिखर) शैलीमा बनेको थियो ।

प्रसियाका राजकुमार वाल्डेमरले सन् १८४५ को फेब्रुअरी/मार्चमा नेपालको भ्रमण गरेका थिए र उनले आफ्नो यात्रा संस्मरणमा रानीपोखरी (उनकै शब्दमा ‘रानी के ताल’) को तस्वीर पनि समावेश गरेका छन् ।

तपाईंको प्रतिकृया

Leave a Reply

Your email address will not be published. Required fields are marked *