नेपाली भूमि उडाउनेहरू नै आज भूमि फिर्ता ल्याउँछु भनिरहेका छन् : राजेन्द्र महतो

संविधान निर्माण प्रक्रियादेखि अहिलेसम्म तपाईंंहहरूको विमति कायमै छ । छैटौँ संविधान दिवससम्मको यात्रालाई कसरी हेरिराख्नु भएको छ ?

संविधान देशको मूल कानुन हो ।  तर नेपालमा संविधानलाई मजाकका रूपमा बनाइएको र मजाकका रूपमा लिइएको छ । संविधानलाई जनताको आशाको केन्द्र बनाउने  काम अहिलेसम्म भएन ।  नेपालमा ६ वटा संविधान समाप्त भइसके । यो सातौँ संविधान पनि कुन दिन सकिने हो ठेगान छैन ।

यसको मूल कारण के हो जस्तो लाग्छ ?

– यसको मूल कारण भनेको नेपालमा संविधान मात्र फेर्ने काम भइरहेको छ, विचार र व्यवहार फेरिएको छैन । विचार र व्यवहार नफेरेपछि जति संविधान बनाए पनि के हुने हो र ? जति व्यवस्था फेरे पनि के हुने हो र ? जनताले  केही पाउने होइनन् । यो अवस्थामा संविधानको विरोध हुनु स्वाभाविक नै हो ।

 

रेशम चौधरीलाई छुटाउन अहिलेसम्म तपाईंहरूले के पहल गर्नुभयो ? प्रश्न यहाँनिर उठेको छ ।

–हामीले संसदको रोस्ट्रम घेराउ र सडकबाट सुरुदेखि नै आग्रह गरेको हौँ । दबाब दिएको हौँ । सरकारले समय समयमा छोड्छु पनि भनेको हो । यही संविधान दिवसको अवसमा पनि छोड्छु भन्ने आश्वासन पाएका थियौँ । तर रोकियो ।

 

वर्तमान सरकारको मध्यावधि समीक्षा भइरहेको छ । प्रधानमन्त्रीलाई तपाईंले विश्वासको मत पनि दिनुभएको थियो । पछि फिर्ता लिनुभयो । यतिबेला विपक्षीको कित्ताबाट सरकारको मध्यावधि समीक्षा कसरी गरिराख्नु भएको छ ?

साढे दुई वर्ष खेर गयो ? आज सबै जनता असन्तुष्ट छन् । सरकार काण्डै काण्डैले भरिएको छ । कोरोना महामारीमा पनि भ्रष्टाचारमा लिप्त भए । प्रधानमन्त्रीले ‘भ्रष्टाचार गर्न पनि दिन्न, आफू पनि गर्दिनँ’ भन्नुहुन्छ । यहाँ गर्न पनि दिने आफू पनि गर्ने उल्टो भइरहेको छ । यो सरकार उखान र टुक्कामै चलिरहेको छ ।

 

‘सत्यमेव जयते, सिंहमेव जयते’ को पाठ सिकाउने प्रधानमन्त्रीलाई भूमि फिर्ताका लागि के कुराले रोकेको छ जस्तो लाग्छ ?

– उखान र टुक्का दिने कुर्सी जोगाउने यत्ति काम हो क्या । योभन्दा बढी कामको आशा पनि नगर्नु होस् । ‘सत्यमेव जयते, सिंहमेव जयते’ भन्दै अन्टसन्ट कुरा गरेर जमिन फिर्ता आउँछ ? वार्ताको माहोल बिगारे पनि कसरी जमिन फिर्ता आउँछ । हामी युद्ध लड्न सक्ने अवस्थामा पनि छैनौँ । आफ्नो प्रमाण लिएर वार्तामा बस्ने माहोल बनाउनुभन्दा वार्ताको माहोल बिथोलिदियो । वार्ताको माहोल बिथोली दियो भने त भारत वार्तामा आएन भनेर दिँदै दिएन भन्न पाइहाल्यो नि ? अहिले त्यही भइरहेको छ ।

तपाईंको प्रतिकृया

Leave a Reply

Your email address will not be published. Required fields are marked *