काँग्रेसमा ‘सर्वसम्मत’ प्रस्तावभित्र स्वार्थको पोको, महाधिवेशनबारे अन्योल यथावत

नेपाली काँग्रेसको १४ औं महाधिवेशन आगामी फागुनको ७ देखि १० गतेसम्म हुने गरी बनाइएको कार्यतालिका प्रभावित भइसकेको अवस्थामा महाधिवेशनको अर्को मिति तोक्नुपर्ने बाध्यता निम्तिएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले निर्धारित मितिमा महाधिवेशन सम्भव नभएको स्वीकार गर्दै सबैको सहमतिमा महाधिवेशनबारे निर्णय हुने बताएका छन् ।

कोरोना महामारीका कारण महाधिवेशनको कार्यतालिका प्रभावित भइरहेको अवस्थामा कसरी महाधिवेशन गर्ने भन्नेबारे पार्टीमा छलफल हुन बाँकी छ । विधानतः थपिएको एक वर्ष पूरा हुँदासमेत महाधिवेशन हुन नसक्दा संविधानतः अर्को ६ महिनाका लागि मौजुदा कार्यसमितिको म्याद थप्न सकिने प्रावधान छ । उक्त प्रावधानअनुसार आगामी भदौभित्र मौजुदा कार्यसमितिले जसरी भए पनि महाधिवेशन गराइसक्नुपर्ने छ ।

१४ औं महाधिवेशनका बारेमा अन्योल कायम रहे पनि पार्टीका कतिपय नेताहरु नेतृत्वको लागि लिगलिगे दौडमा आफूखुशी अघि बढिसकेका छन् । पार्टी सभापतिका लागि दाबेदारी प्रस्तुत गर्दै केही नेताले आफू अनुकुलका प्रस्ताव राख्न थालेका छन् ।

यस क्रममा उपसभापति विमलेन्द्र निधिले सर्वसम्मत नेतृत्व चयनमा जोड दिन थालेका छन् । सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका उनले यथास्थितिमा आफ्नो अनुकुल समीकरण नदेखेपछि सर्वसम्मत रुपमा नेतृत्व चयनको प्रस्ताव गरेका हुन् ।

कम्युनिष्ट पार्टीको वर्चस्वलाई तोड्नुपर्ने, राष्ट्रलाई उचित गति दिनुपर्ने, प्राप्त राजनीतिक उपलब्धिहरुलाई संरक्षण गर्दै आर्थिक विकास गर्नुपर्ने समयमा काँग्रेस सशक्त, सुदृढ र एकताबद्ध हुनुको विकल्प नरहेको उनको भनाइ छ ।

नयाँ पुस्तालाई वर्तमान राजनीतिक प्रणालीप्रति प्रतिबद्ध गराउनु, नेपाली काँग्रेसमा तिनीहरुको आकर्षण र सहभागिता विस्तार गर्नु, रोजगारमुखी उद्यमशील युवापुस्तालाई सक्रिय गराउँदै पार्टीमा सबै पुस्ताको समन्वय खोज्नुपर्ने आवश्यकताका कारण आफूले उम्मेदवारी प्रस्तुत गरेको निधिको भनाइ छ ।

सभापति शेरबहादुर देउवाको सहयोगी मानिँदै आएका उनले देउवाकै उत्तराधिकारीका रुपमा उम्मेदवारी दिन लागेका भने होइनन् । देउवा आफैँ अर्को कार्यकालका लागि उम्मेदवारी दिने तयारीमा छन् । यस्तो अवस्थामा देउवा क्याम्पबाट निधिले साथ र समर्थन नपाउने निश्चित छ । अर्कोतिर लामो समय देउवाको सहयोगी भएका कारण पनि उनलाई वरिष्ठ नेता रामचन्द्र पौडेलको क्याम्पले नेताका रुपमा स्वीकार गर्दैन ।

तपाईंको प्रतिकृया

Leave a Reply

Your email address will not be published. Required fields are marked *