संक्रमणको जोखिममा उपत्यका, निषेधाज्ञा लगाएर के गर्दैछ सरकार ?

‘अहिले जनस्वास्थ्य कार्यालय र स्थानीय तहहरु कन्ट्याक्ट ट्रेसिङ गर्ने मात्रै होइन, आफैं स्वाब संकलन पनि गरिरहेका छन्, हामी सबै महामारी नियन्त्रणमा जुटेका छौं ।’

कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढ्न थालेपछि काठमाडौं उपत्यकामा स्थानीय प्रशासनले भदौ ४ देखि एक साता निषेधाज्ञा लागू गर्‍यो ।

सात दिन सकियो, अर्को सात दिन अर्थात १७ भदौसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । तर यो ९ दिनमा सम्भावित महामारी टार्न गर्नुपर्ने कामहरु पर्याप्त भएको छैन । संक्रमित पहिचानका लागि महत्वपूर्ण मानिने कन्ट्याक्ट ट्रेसिङ अझै प्रभावकारी छैन भने समुदाय स्तरमा परीक्षण पनि सुरु गरिएको छैन ।

एउटा उदाहरण हेरौं,

नयाँ बानेश्वरका एक विद्यार्थीले निजी ल्याबमा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भयो । शनिबार विहान स्वाब दिएका उनी साँझ नै होम आइसोलेसनमा बसेका थिए । तर ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) बाट आइतबार साँझ मात्र आफू संक्रमित भएको औपचारिक खबर पाए ।

ईडीसीडीबाट फोन गर्ने व्यक्तिले उनलाई आइसोलेसनमा बस्न र प्रशस्त तातोपानी खान सुझाव दिए । तर संक्रमितमा लक्षण भए–नभएको, होम आइसोलेसनमै बस्दा मापदण्ड अनुसारको घर वा कोठा भएको वा नभएको सोधीखोजी गरेन ।

त्यसको २/३ दिनपछि काठमाडौं महानगरपालिकाको स्वास्थ्य महाशाखाको टोलीले फोन गरेर स्वाब दिनु ४८ घण्टाअघि प्रत्यक्ष सम्पर्कमा भएकाहरुको सोधीखोजी गर्‍यो । त्यसपछि बल्ल वडा कार्यालयले क्लोज कन्ट्याक्टमा रहेकाहरुलाई फोन गरेर स्वाब संकलन नहुँदासम्म होम आइसोलेसनमा बसिदिन आग्रह गर्‍‍यो, त्यतिबेलासम्म संक्रमित विद्यार्थीले स्वाब दिएको चार दिन भइसकेको थियो ।

‘मलाई संक्रमण पुष्टि भएलगत्तै परिवारका सबै होम आइसोलेसनमा बस्नु भएको थियो । त्यसैले ढिलो खबर हुँदा पनि फरक परेन’ संक्रमित विद्यार्थी भन्छन्, ‘तर सबैको हकमा आइसोलेनसमा बस्न मिल्ने अवस्था हुन्छ कि हुन्न ? यदि कुनै सदस्यलाई संक्रमण रहेछ र ४/५ दिनसम्म आइसोलेसनमा बसेन भने के होला ?’

यो त प्रतिनिधि घटना मात्रै हो, काठमाडौं उपत्यकामा संक्रमण बढ्दै जाँदा संक्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको पहिचान र परीक्षण नभएको गुनासो धेरै आउने गरेको छ । आफूले हेर्ने गरेका बिरामीहरुले आफ्नो प्रत्यक्ष सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ नगरेको गुनासो गर्ने गरेको कोभिड अस्पतालका चिकित्सकहरु सुनाउँछन् ।

त्यसो भए निषेधाज्ञा जारी गरेर सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय वा ईडीसीडी चाहिँ के गर्दैछ ?

कन्ट्याक्ट ट्रेसिङका लागि प्रत्येक गाउँपालिकाले १, नगरपालिकाले २ र महानगरपालिकाले ५ वटा टिम बनाएको छ । काठमाडौं महानगरपालिकाले भने १० वटा टोली बनाएको छ । हरेक टिकमा पारामेडिक्ससहित जम्मा तीन जना हुन्छन् ।

मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतम केही नगरी हात बाँधेर बस्न निषेधाज्ञा नगरिएको बताउँछन् ।

उनकाअनुसार मन्त्रालय, ईडीसीडी, स्थानीय तहहरु महामारी नियन्त्रणमा लागेको छ । ‘निषेधाज्ञामा मानिसहरुको चहल पहल कम हुने भएकाले संक्रमण दर कम हुन्छ । यो अवधिमा संक्रमित व्यवस्थापन र कन्ट्याक्ट ट्रेसिङ गर्ने काम भइरहेको छ’ डा. गौतम भन्छन्, ‘सरकार र यसका निकायहरुले महामारी नियन्त्रणमा काम गरिरहेको छ, जनताको सहयोग चाहियो ।’

ईडीसीडीका निर्देशक डा. वासुदेव पाण्डे पनि काठमाडौं उपत्यकामा तीनवटै जिल्लाका जनस्वास्थ्य कार्यालय र स्थानीय तहसँग समन्वय गरेर कन्ट्याक्ट ट्रेसिङ र परीक्षण भइरहेको बताउँछन् ।

उनका अनुसार सबै स्थानीय तहमा कोभिड रेस्पोन्स टिम बनेको छ र, यही टिमले संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङ र परीक्षण गरिरहेको छ । ‘अहिले जनस्वास्थ्य कार्यालय र स्थानीय तहहरु कन्ट्याक्ट ट्रेसिङ गर्ने मात्रै होइन, आफैं स्वाब संकलन पनि गरिरहेका छन्’ पाण्डे भन्छन्, ‘हामी सबै महामारी नियन्त्रणमा जुटेका छौं ।’

तपाईंको प्रतिकृया

Leave a Reply

Your email address will not be published. Required fields are marked *